समाचार

देशको सार्वजनिक स्थलमा निःशुल्क वाइफाई सेवा : नेपाल टेलिकम

मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाईफाई चलाउने नेपाल टेलिकमको नयाँ योजना शुरु भएको छ । टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ ।

धेरै भीडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप टेलिकमले यो थालनी गरेको हो ।

टेलिकमले हाल मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निःशुल्क वाईफाई उपलब्ध गराउँदै आएको छ । उपत्यकाबाट निःशुल्क वाईफाई सेवा सुरु गरेको टेलिकमले देशका सार्वजनिक ठाउँमा सेवा विस्तार गर्ने योजना बनाएको छ । मुलुकभरका सार्वजनिक विद्यालय, स्वास्थ्यसंस्था, नगरपालिका, गाउँपालिकाको कार्यालय र अन्य भीडभाड हुने सार्वजनिक स्थानमा निःशुल्क वाईफाई वितरण गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।