पु.समाचार

कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक, ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण 

काठमाण्डौ, कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान विषयको परीक्षाफल आज प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । परीक्षा बोर्डका अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । आज बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थी मध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका छन् । त्यस्तै १७ जनाको परीक्षा रद्ध गरिएको छ । त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४८९ मध्ये ४ हजार १३७ बिद्यार्थी उत्तिर्ण भएका छन् । यस तर्फ ३ जनाको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिक तर्फ ४३.५९ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् ।