समाचार

भोजपुर बालबालिका हत्याको ४५ दिन– अनुसन्धान सुस्त : खुल्दैन रहस्य !

भोजपुर, २५ साउन । भोजपुर अरुण गाउँपालिका ३ प्याउलीका ३ बालबालिकाको रहस्यमय ठंगमा हत्या भएको ४५ दिन भयो । तर अझै पनि घटनाको रहस्य बाहिर आउन सकेको छैन । असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिका हत्याको कारणबारे अनुसन्धान सुस्त भएको स्थानियले बताएका छन् ।

घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता लाग्न सकेको छैन । अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । तर घटनाबारे केही पनि नयाँ कुरा खुल्न नसकेको भन्दै मृतकका आफन्त चिन्तित बनेका छन् । अनुसन्धान सुस्त रहेको भन्दै स्थानीय भने आक्रोशित बनेका छन् ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव सापकोटा र चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीप फुयाँल गत असार १२ गते माछा पोखरीमा मृत भेटिएका थिए ।