समाचार

पहिरोमा पुरिएका ४ जनाको शव रसुवामा भेटियो, कास्कीमा १३ घर विस्थापित

काठमाण्डौ, २५ साउन । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका ४ जनाको शव भेट्टिएको छ ।

आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार बेलुका भटिएको हो । सुरक्षाकर्मीसहितको उद्धारकर्मीको टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर ७५ वर्षका थापामगरको उनको घरले पुरिएको अवस्थामा निकालेको रसुवा प्रहरीले जनाउको छ । पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिएको थियो ।

पहिरोमा परेर धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षकी मुना, नाति चार वर्षका रवीन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको मृत्यु भएको हो । पहिरोपछि घर पुरिएका १५ परिवार र जोखिममा रहेका १२ परिवार गरी २७ परिवारलाई उद्धार गरी नुवाकोटको शान्तिबजारमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको आवासगृहमा स्थानान्तरण गरिएको छ ।

यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा पहिरो जाँदा १३ घरपरिवार बिस्थापित भएका छन् । मंगलबार राति ९ बजेतिर गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा १३ घरमा क्षती पुगेको र ५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घरमा बस्न नमिल्ने भएपछि १३ घरपरिवारले राति भागेर ज्यान जोगाएका हुन् । उनीहरु अहिले नजिकैको चौरमा बसिरहेका छन् । रिभानमा अहिले पनि पानी परिरहेकाले उनीहरुलाई बस्न समस्या भएको छ । उद्धारको लागि प्रहरी टोली त्यसतर्फ जान लागेको प्रहरीले जनाएको छ ।