समाचार

पाँचथरको चुम्पादिनमा पहिरो, एकै परिवारका ३ सहित ४ जनाको मृत्यु, ५० घर जोखिममा

फिदिम, २७ साउन । पाँचथरको चुक्पादिनमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३ जना एकै परिवारका रहेका छन् । पहिरोमा परेर एक महिला घाइते भएकी छन् । दुई घरमा क्षति पुगेको छ ।

फालेलुङ–३ ताङ्लेपाका विष्णु भक्त राई उनकी छोरी गंगामाया र नातिनी प्रिया राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई भने शौचालय गएका कारण बचेकी छिन् । चुक्पादिनमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो । यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर मृत्यु भएको छ ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरोमा पुरिएकाहरुको शवे भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले निकालेको हो । पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । लगातार परिरहेको पानी र ठाउँठाउँमा गएको पहिरोका कारण माङलेबुङ, बुङ्खिडाँडा र खोलाघारी गाउँका करिब ५० घर पहिरोको जोखिममा परेका छन् । पहिरोका कारण प्रहरीलाई घटनास्थल पुग्न पनि समस्या भएको छ ।