समाचार

देशभर भारी बर्षा, बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु

काठमाण्डौ, २८ साउन । दुईदिन यता लगातार भारी बर्षा हुँदा आएको बाढी र पहिरोमा परेर देशभरबाट २३ जनाले ज्यान गुमाएका छन् ।

शनिबार मध्यान्हसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बग्नुकासाथै हजारौ घर डुबानमा परेका छन् । यस्तै बाढी र पहिरोले सैयौं विघा कटान गर्नुकासार्थ बालीनालीमा क्षति पुगेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाले ज्यान गुमाएका छन् भने चार जना हराइरहेका छन् ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको छ । गृह मन्त्रालयले प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रिय रुपमा खटिरहेको जनाउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न पनि यसअघि नैे आब्हान गरेको छ ।

पछिल्लो हामीलाई प्राप्त जानकारी अनुसार सबै भन्दा धेरै सुनसरीमा ७ जनाले ज्यान गुमाएका छन् । यस्तै सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा २ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।

बाढीका कारण सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ । यस्तै बिराटनगर महानगरपालिका पूरै जलमग्न छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ । झापामा पनि बाढीले धेरै घरहरु डुबानमा पारेको छ ।