प्रवास

एनआरएन अमेरिकाको समितिविरुद्ध जीसीको आक्रोश

न्यूयोर्क । एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवं हाल आइसीसी सदस्य रहेका खगेन्द्र जीसीले एनसीसी अमेरिकाले हिजो गठन गरेको भनेको समितिमा आफु नरहेको जनाएका छन् ।

हिजो एक विज्ञप्ति प्रकाशित गर्दै जीसीले अदालतले टुंगो लगाई सकेको विषयलाई फेरि समिति बनाई छानबीन गर्नु भनेको अदालतको निर्णयको अवहेलना हुने र अदालतले यस विषयमा षड्यन्त्र र मानहानीको कारवाही गर्न सक्ने भन्दै यस्तो विषयमा संवेदनशील हुन सबैलाई आग्रह गरेका छन् ।

एनआरएन अमेरिकाको वर्तमान कामचलाउ समितिले यसअघि एनआरएन अमेरिकाको विगत र पदाधिकारीहरुको अभिलेख र दस्तावेज संकलन गर्नका लागि भन्दै जीसीसहित तीन सदस्यीय समिति गठन गरेको थियो । सोही समितिमा आफु बस्न नमिल्ने प्रष्ट पार्दै जीसीले लगत्तै हिजो आफ्नो असहमतिलाई बुँदागत रुपमा सार्वजनिक गरेका छन् ।

यस पहिले निर्वाचन आयोगका तर्फबाट गत मे महिनाको अन्तिमदेखि विधानतः वर्तमान एनसीसी कार्य समितिको कार्यकाल समाप्त भएको भन्दै कुनै पनि नीतिगत निर्णय नगर्न र कुनै त्यस्तो महत्वपूर्ण निर्णय गर्नुपर्ने भए निर्वाचन आयोगसंग परामर्श गरेर मात्र निर्णय गर्न ध्यानाकर्षण गराएको थियो ।

कार्यकाल समाप्त भैसकेको नेतृत्वले अहिले यस्तो समिति गठन गर्नु औचित्यहीन भन्दै कतिपयले सामाजिक संजालमार्फत काम चलाउ नेतृत्वको आलोचना गरेका छन् । त्यसो त यस्तो समिति गठन गर्न काम चलाउ अध्यक्ष डाक्टर केशब पौडेलले प्रस्ताव गर्दा बैठकमा नै उपाध्यक्ष रबिना थापा,कोषाध्यक्ष बेद बस्नेत र प्रवक्ता राम खरेलले असहमतिसहित नोट अफ डिसेन्ट समेत लेखेका थिए ।

उनीहरुको प्रस्ताव अदालत र एनआरएन आइसीसीले समेत सम्बोधन गरिसकेको विषयलाई अब कुनै समिति बनाएर अल्झाउनु नहुने र निर्वाचनका लागि वातावरण बनाउन सहजीकरण गर्नुपर्छ भन्ने थियो ।