अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा तुफान, ठूलो बाढी आउने खतरा !

एजेन्सी । अमेरिकाको टेक्सासमा हार्वे नामक तुफान चलिरहेको छ । जसका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

विशेष गरी टेक्सासको तटिय क्षेत्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टाको दूरीमा हावा चलिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो १२ वर्षमा आएका तुफान मध्ये हार्वे सबैभन्दा खतरनाक हुन सक्ने भन्दै प्रान्तीय गभर्नर एबटले संघीय मद्दतका लागि आह्वान गरेका छन् ।

यो तुफानबाट ठूलो विपत्ति हुन सक्ने भन्दै सचेत तुल्याइएको छ । तुफानका कारण टेक्सासको ह्युस्टनसहितका क्षेत्रमा ठूलो बाढी आउने खतरासमेत रहेको अमेरिकाको राष्ट्रिय चक्रवात केन्द्रले चेतावनी दिएको छ ।

तुफानबाट बच्न त्यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहे पनि जोडले हावा चलिरहेको कारण अरु उद्धार कार्यमा समस्या भइरहेको अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसले जनाएको छ ।