देश

सिन्धुपाल्चोकको अति दुर्गम क्षेत्रमा समेत नेपाल टेलिकमको सेवा सञ्चालनमा

काठमाण्डौ । नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ । यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए ।

चेपेडाँडाको बिटिएस साइट सञ्चालन पश्चात सिन्धुपाल्चोक जिल्लाका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको छ ।

यो क्षेत्रमा पहिले देखिनै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने भएका छन् । सो क्षेत्रमा जिएसएम सेवा सुचारु भएपछि स्थानिय वासिन्दा निकै उत्साहित भएको पाइएको छ । अब सो क्षेत्रका वासिन्दाले जिएसएम मोबाइलबाट डाटा सेवा चलाउन र फोन गर्न समेत सक्नेछन् ।

गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।