पु.समाचार

प्रेस स्वतन्त्रता सेनानी कृष्णआचार्य सम्मानित

खोटाङ । संविधान दिवसको अवसरमा खोटाङका वरिष्ठ तथा ज्येष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’ उपाधीबाट सम्मानित भइसकेका पत्रकार आचार्यलाई संविधान दिवसको अवसरमा मंगलबार जिल्ला समन्वय समितिले बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।

खोटाङको पत्रकारिताको विकासका क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप ६२ वर्षीय पत्रकार आचार्यलाई जिल्ला समन्वय समितिले मंगलबार दिक्तेलमा सम्मान गरेको जनाएको छ ।

नेपाल पत्रकार महासंघले आफ्नो २५ औँ महाधिवेशनका अवसरमा भदौ ४ गते पत्रकार आचार्यलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरेको थियो ।

संविधान दिवसको अवसरमा दिक्तेलमा प्रभातफेरी निकालेपछि जिल्ला समन्वय समितिको हलमा सभामा परिणत भएको कार्यक्रममा पत्रकार आचार्यलाई समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतले खादा र अबीर लगाइदिएर सम्मान प्रदान गरे ।

कार्यक्रममा ‘संविधान र संविधानको जन्म’ विषयक अन्तरक्रिया कार्यक्रममा विषयान्तर नगरी छोटो समयमा आफ्नो भनाइ राखेकामा आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईलाई पनि सम्मान गरियो ।