पु.समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी (मोरङ) । मोरङको बेलबारी नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल मंगलबार बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–३ का ३९ वर्षीय अशोक राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ का १९ वर्षीय सनम तामाङ गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ ।

दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए।