पर्यटन/संस्कृति

आज फूलपाती भित्र्याइँदै

काठमाडौँ । बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।

हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।