अन्तर्राष्ट्रिय

रोहिङ्गाको संरक्षणमा दीर्घकालीन योजना आवश्यक– राष्ट्रसंघ

जेनेभा । झण्डै पाँच लाख जति म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थी रहेको बंगलादशेमा उनीहरुको संरक्षण र सहयोगका लागि विशेष र दीर्घकालीन योजना आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिब पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन ।

सोही कारणले पनि उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन कार्यक्रम र रणनीतिको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको हो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीका अनुसार उनीहरुको अहिलेको अवस्था अत्यन्तै नाजुक छ, खानपिनको राम्रो प्रबन्ध छैन र सरसफाइ पनि छैन ।

यस्तो अवस्थामा उनीहरु बसिरहेकाले आगामी दिनमा यसले हैजा तथा यस्तै अरु पनि पानीजन्य रोगले सताउन सक्ने खतरा पनि रहेको उनको भनाइ थियो ।

उनले भने– यो अत्यन्तै डरलाग्दो अवस्था छ, ती शरणार्थीले खानेकुरा र पानीकै कारण ज्यान गुमाउनसक्ने लाजमर्दो अवस्था पनि आउनसक्छ त्यसैले सहयता संस्था एवं देशलाई मेरो आग्रह छ उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन व्यवस्था केही होस् ।

पहिलो कुरा त हामीले उनीहरुलाई घर फिर्ता हुने वातावरण नै निर्माण गरिदिने हो, तर अहिलेकै लागि त्यो सम्भव छैन । त्यसैले हामीले उनीहरुको बसाइँको लम्बाइको विचार गरेर पनि दीर्घकालीन संरक्षण योजना ल्याउनु आवश्यक छ– उनको भनाइ थियो ।

म्यानमारमा उक्त समुदायमाथि सरकारी सेनाले नै हिंसा गरेको आरोपमा उनीहरुले गएको अगष्ट २५ देखि घर छोडेर हिँडेका थिए । उनीहरु यी दुई देशको सीमामा पर्ने नाफ नदीको किनार र त्यसको वरपर गरी चार लाख ३० हजारभन्दा बढीको संख्यामा त्यहाँ रहेका छन् ।