पु.समाचार

दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या

बाबियाचौर(म्याग्दी) । म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ ।

मालिका गाउँपालिका–५ र धौलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेवल पुल नहुँदा धौलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।

हिउँदमा पानीको सतह घटेको अवस्थामा खोलाबाटै सवारी साधन तार्ने गरिए पनि वर्षायामको चार महिना सिधा सवारी सञ्चालन हुन नसकेको यातायात व्यवसायी खुमबहादुर थापाले बताए ।

उहाँका अनुसार पुल अभावमा सर्वसाधारण सवारी साधन परिवर्तन गरेर अथवा पैदल हिडेर गन्तब्यमा पुग्ने गरेका छन् । सामान ढुवानी लागत महँगो पर्न गएको छ । सो खोलामा पुल नहुँदा धौलागिरी गाउँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ र गुर्जाका बासिन्दा प्रभावित भएका छन् ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले दाङखोलामा अस्थाई पुल निर्माणका लागि यस वर्ष पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

वर्षा सुरु हुन अघिनै अस्थाई पुल निर्माणकार्य सुरु गरिएता पनि पूर्णता पाउन सकेको छैन् । अस्थाई पुल निर्माण गरेपछि नियमित सवारी सञ्चालन हुने अध्यक्ष पुनले बताए ।