स्वास्थ्य

तीनवर्ष बित्दा पनि मिर्गौला प्रत्यारोपण हुनसकेन

नारायण ढुंगाना
रत्ननगर, चितवन । चितवनका एक व्यक्तिले आर्थिक अभावका कारण तीन वर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गराउन सकेका छैनन् ।

भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत उनले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताएका छन् । रोगको पहिचान र डाईलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको बताइएको छ ।

भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको दुवै मिर्गौलाले कामगर्न छाडेको तीन वर्ष भइसक्यो । उनले अझै मिर्गौला प्रत्यारोपण गराउन सकेका छैनन् ।

“तीन वर्षदेखि मिर्गौलाको डाइलाइसिस गर्दै आएको छु, मनबहादुरले भने, मिर्गौला प्रत्यारोपण गर्न पैसा छैन ।” उहाँलाई सुगर र प्रेसरको समेत रोग छ ।

पैसा नभएपछि उनले सहयोगको याचना गरेका छन् । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गर्नुभएका उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरे।

पछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौँमा उपचारको क्रममा डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि मनबहादुरलाई पीडा थपियो ।

सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्नलाग्ने औषधि खर्च जोहो गर्न धौधौ भएको उनी बताउछन् ।

छजनाको परिवार रहेको उनलाई अहिले दैनिक गुजारा चलाउन पनि मुस्किल छ । श्रीमान्को उपचार गर्नको लागि भएको सातधुर जग्गा पनि बिक्री गर्नुपरेको र उपचारको लागि करिब रु ३० लाख लाग्ने गंगामायाले बताइन् ।

ऐलानी जमिनमा सानो घरमा बस्दै आएको छ, गुरुङ परिवार । आफूले एउटा मिर्गौला दिन चाहेपनि पैसा नभएर प्रत्यारोपण हुन नसकेको उनको दुखेसो छ । मनबहादुर यसअघि भृकुटी कागज कारखाना, गैँडाकोटमा जागिरे थिए । सो कारखाना बन्द भएकाले रोजगारी पनि गुम्यो ।

उनले पाउनुपर्ने करिब रु पाँच लाख छ । त्यो पैसा आए पनि उपचारमा सहयोग पुग्ने उनको परिवारका सदस्य बताउँछन् ।