पु.समाचार

माघीमा रम्दैछन् दाङका थारुबस्ती

दाङ, माघ १ । युवती घर लिपपोतमा व्यस्त छन्, पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य आइतबार यहाँका प्रायः सबै थारु बस्तीमा देखिएको थियो ।

थारुगाउँमा थारु समुदायका महिला तथा पुरुष आआफ्नै काममा व्यस्त देखिन्थे । पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अन्य काममा व्यस्त देखिन्थे भने महिला रोटी पकाउनेदेखि लिएर दुनाटपरी खुट्नमै व्यस्त थिए ।

दिनभर माछा मार्नेलगायतका काममा थारु समुदायका मानिस माघीको तयारी गर्दै थिए । माघीको अघिल्लो दिन सुँगुरको मासु काट्ने, रोटी पकाउनेलगायतका काम तयारीस्वरुप हुने तुलसीपुर उपमहानगरपालिका–६ का ज्ञानसिंह चौधरीले बताए ।

उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको समेत बताएका थिए । आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गरेकी बुझौनी चौधरीले भने “माघीका लागि खानाखान प्रयोग गर्नका लागि दुनाटपरी बनाउँदै गरेकी हुँ । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खाना खानका लागि धेरै चहिन्छ त्यसैले बनाउन लागेको हो ।”

तुलसीपुर–६ को रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य स्थानका थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । घोराही उपमहानगरपालिका–१२ कपडादेवी मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्थ्यो आइतबार ।

आफ्ना बुहारीसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त मनराखी माघीमा खानको लागि मालुको पातको दुनाटपरी बनाउनमै व्यस्त रहेका थिए । मालुको पातका दुई किसिमका दुनाटपरी बनाउँदै गरेकी मनराखीले ठूलो दुना जाँड खानको लागि र सानो टपरी सुँगुरको मासु खानको लागि बनाउन लागेको बताए ।

करिब पाँच दिन अगाडिदेखि आफूहरु परिकार बनाउनका लागि लागिपरेको तुलसीपुर उपमहानगरपालिका–१२ नयाँ बस्तीका शारदा चौधरीले बताएका छन् ।

एक महिना अगाडिदेखि नै पातका लागि वन जाने, दाउराका लागि वनमा जाने गरेको भए पनि परिकारका लागि पुस २५ गतेदेखि आफूहरु लागिपरेको उनको भनाइ छ ।

माघीको लागि अचार बनाउँदै गर्नुभएकी शारदाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिक्री माघ १ गते बनाउने भएपनि अन्य रोटीलगायत अचार बनाउने काम गरिरहेको बताए । सबै परिकार आफूले तयार गरिसकेको, शुक्रबार र शनिबार माछा मार्ने काम गरेको चौधरीले बताए ।

माघ १ गते बिहानमा ढिक्री बनाउने चलन रहेको र माघ १ गते सबै जम्मा भएर खाने रमाउने गर्ने चलन रहेको उहाँको भनाइ छ । “सबै परिकार बनाइसके अब माघ १ गते बिहानमा ढिक्री बनाउने हो” उनले भने– “माघीमा सबैजम्मा हुने रमाउने यही त हो नि ।” माघमा ढिक्री बनाउने चलन रहेको भए पनि माघको १ गते बनाउने गरिन्छ । यस्तै माघीमा माछा मार्ने चलन पनि रहेको छ ।

माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु माछा मार्नको लागि बबई नदीमा आएको बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ की लीला चौधरीले भने “माछा मार्नका लागि गाउँमा युवायुवती जम्मा यहाँ आएका हौँ ।” “माघीमा माछा मार्ने प्रचलन रहेको छ” रमाइलो हुन्छ माछा मार्न उनले भने ।

माघीलाई थारुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आइ दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन पनि रहेको छ ।

रायणी रजौरे रासस