पर्यटन/संस्कृति

हलेसीमा पानी निकालियो

खोटाङ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थत हलेसीमा खानेपानीका लागि डिप बोरिङ परीक्षण सफल भएको छ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी बजारमा आइतबार प्राविधिक टोलीद्वारा परीक्षण गरेको हो ।

बसाहागुफादेखि केही तल्लो ड्रिलिङ मेसिन जडान गरेर गरिएको परीक्षणमा प्रतिसेकेन्ड २० लिटर पानी निस्किएको एसियन ड्रिलिङ कम्पनीका रामशरण कार्कीले बताए । ‘सुक्खाग्रस्त क्षेत्र भए पनि ४० मिटर तल पुग्दा नै पर्याप्त पानी निस्कियो,’ उनले भने, ‘सुख्खाग्रस्त क्षेत्र भएकाले करिब ७६ मिटर तलसम्म प्वाल पारेर प्रतिसेकेन्ड १० लिटर मात्र पानी तान्ने योजनामा छौं ।’

गत वर्ष हलेसी र बोझे ओढारमा गरिएको अध्ययनपछि केन्द्रबाट प्राविधिक टोली ल्याएर परीक्षण गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । ‘डिप बोरिङ योजनाबाट हलेसीका साढे ३ सय परिवारलाई पानी पुर्‍याउने योजना छ,’ राईले भने, ‘पानी आएपछि पर्यटकलाई समेत सहज हुनेछ ।’