पर्यटन/संस्कृति

गलेश्वरधाममा पर्यटकको बढ्दो आकर्षण

बेनी, म्याग्दीः म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि अहिले तीर्थयात्री तथा बाह्य पर्यटकसमेत यहाँ आकर्षित भएका छन् ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शिला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिंग रहेको भनिएको गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकको आकर्षण यहाँ बढेको हो ।

कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी र दाताको सहयोगबाट रु नौ करोडका लागतमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

मन्दिरमा चढेको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैँचा, अतिथी आवास, संस्कृत पाठशाला, हवनकुण्डलगायतका संरचना निर्माण भएपछि गलेश्वर सबैको आकर्षणको केन्द्र बन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिंग, चक्रशिलाको परिधिमा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान् शिवका चरण चित्र, त्रिशूल, शंख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ आचार्यले बताए ।

विसं २०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो निजी लगानीमा रु २० लाखको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकासको शिलान्यास शुरु भएको हो । यस क्षेत्रअन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, शिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरधामले स्वदेशी तीर्थयात्रीको मात्रै होइन, विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौँ विदेशी पर्यटक आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।