पर्यटन/संस्कृति

सिपालु मूर्तिकार टमटालाई अर्थ अभाव

राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका भम्काका मूर्तिकार प्रेम टमटासँग निखारिएको सीप छ । सीपलाई व्यवसायमा परिणत गर्नका लागि अर्थ अभाव रहेको छ । ज्यालामा काम गरी मूर्ति कोरेर आएको रकमबाट उहाँले ऐलानी जग्गा खरिद गरी त्यसमा पक्की घर ठड्याउनुभएको छ ।

खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र नहुँदा उहाँले आफैँले पैशा खर्च गरी मूर्ति बनाएर बेच्ने वर्षौंको धोको पूरा गर्न सक्नुभएको छैन । जग्गाको प्रमाणपत्र भए जग्गा बैंकमा राखेर मूर्ति बनाउने उद्योग सञ्चालन गर्नका लागि अत्याधुनिक मेशिन खरिद गरी कार्य अगाडि बढाउँथेँ, मूर्तिकार टमटाले भन्नुभयो, “रकमकै अभावमा ज्यालामा काम गर्नुपरेको छ ।”

पाँचजनाको परिवारको खर्च ज्यालामा मूर्ति बनाएर आएको रकमबाट व्यहोर्दै आएका उहाँले दुई दशकअघि भारतको राजस्थान प्रान्तको जयपुरमा मूर्ति बनाउने कलाकारकहाँ मजदूरी गर्दा मूर्ति बनाउने कला सिक्नुभएको हो ।

निखारिएको मूर्ति बनाउने सीप भएका उहाँले तामा, पित्तल, ढुंगा, माटो र सिमेन्टको प्रयोग गरी जस्तोसुकै मूर्ति पनि बनाउन सक्नुहुन्छ । कैलालीको गोदावरीमा नेपालकै ठूलो हनुमानको मूर्ति उहाँले नै बनाउनुभएको हो ।

देवालयमा धार्मिक मूर्ति र महापुरुषका छ दर्जनभन्दा बढी मूर्ति बनाइसकेको टमटाले बताउनुभयो । गोदावरीको हनुमानको मूर्ति बनाएर नै जग्गा र घर जोड्न सकेको हुँ, उहाँले भन्नुभयो, “त्यसपछि गतिलो मूर्ति बनाउने कार्य पाउन सकेको छैन ।”

मेशिनको अभावमा हातैले उहाँले मूर्ति बनाउँदै आउनुभएको छ । एक मूर्ति बनाएबापत रु २० हजारदेखि रु ५० हजारसम्म कमाइ हुने गरेपनि वर्षमा एक दुई वटा मात्रै मूर्ति बनाउनका लागि अर्डर आउने गरेको उहाँले बताउनुभयो ।

मूर्ति बनाएर आएको रकमले परिवारको खाना, लुगाफाटो र बालबालिकाको विद्यालय खर्च धानिएको छ, उहाँले भन्नुभयो, “त्यसपछिको प्रगति र आर्थिक उन्नति छैन ।”

मूर्तिकार टमटा अहिले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिंगामा शिव, पार्वती, गणेश, नन्दी र मुसोको सिमेन्टका मूर्ति बनाउनमा लाग्नुभएको छ । नगरपालिकाले केही सहयोग दिने भनेपछि मूर्ति बनाउनमा लागेको उहाँले बताउनुभयो ।

नेपालमा अत्याधुनिक मूर्ति बनाउने सीप भएका थुप्रै मूर्तिकार रहेका भए पनि अझै मूर्ति र शालिक बनाउन भारतबाट महँगो ज्यालामा कलाकार झिकाउने चलन रहेको छ ।

त्यस कार्यलाई निरुत्साहित गर्दै नेपाली मूर्तिकारलाई मूर्ति बनाउने अवसर दिइनु पर्छ, टमटाले भन्नुभयो, “यस कार्यले मूर्ति बनाई पैसा कमाएर जीविका सहजरुपमा चलाउन सकिने हुन्छ ।”

मूर्तिकारलाई सरकारले स्तर निर्धारण गरी परिचयपत्र उपलब्ध गराई जीविका चलाउन सक्ने गरी काम दिनुपर्ने उहाँले बताउनुभयो । बैंकबाट बिना धितो रकम झिकी व्यवसाय गर्न स्थानीय तहलाईनै अधिकार दिई सीपको जगेर्ना गर्नमा मद्दत पु¥याउन पनि उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

मूर्ति बनाउने पेशामा यहाँका अधिकांश दलित समुदायका व्यक्तिनै संलग्न रहेकाले उहाँहरुसँग बस्नका लागि गतिलो घर र घर बनाउनका लागि जग्गाको अभाव रहेको बेदकोट नगरपालिका–५ का वडाध्यक्ष गणेश विकले बताउनुभयो ।

“ती परिवारको पुनःस्थापन गरी पेशालाई मर्यादित र व्यावसायिक बनाउनका लागि अनुदान रकमको व्यवस्था गर्न अपरिहार्य रहेको छ” उहाँले भन्नुभयो । डडेल्धुराको अजयमेरुकोट देवल र विभिन्न ठाउँमा रहेका प्राचीन देवल र त्यसमा राखिएका मूर्ति सबै ढुंगाको मूर्ति बनाउनमा निपुण दलित समुदायका व्यक्तिले नै बनाएको विश्वास गरिएको छ ।

मूर्ति बनाएर जीविका चलाउन नसकिने भएपछि अधिकांश पेशाबाट पलायन भए, विकले भन्नुभयो, “मूर्तिकोर्दै आएका थोरैको संख्यामा रहेका मूर्तिकारलाई जोगाउनका लागि समयअनुसारको मूर्ति बनाउने कलासम्बन्धी सीप सिकाउने र सीप सिकाएपछि व्यावसायिक बनाउन सहज अनुदान रकम वा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।”