पर्यटन/संस्कृति

महायज्ञमा रु तीन करोडको दान संकलन

रामपुर, पाल्पा । गुरुकूल पाठशाला तथा प्राकृतिक चिकित्सालय निर्माणका लागि कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा सञ्चालन भएको महायज्ञमा रु तीन करोड बराबरको दान संकलन भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाको संगमस्थल कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा चैत ३ गतेदेखि सञ्चालन भएको महायज्ञ आइतबारसम्म चलेको थियो ।

महायज्ञ अवधिभर रु ८१ लाख नगद दान र २२ रोपनी बराबरको जग्गादान गरी करीव रु तीन करोड बराबरको दान संकलन भएको यज्ञ मूल सम्पादन समितिका अध्यक्ष शंकरप्रसाद पाण्डेले जानकारी दिए ।

रामतपोभूमिका रुपमा परिचित यस क्षेत्रमा धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि श्रीराम कथा ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञ अवधिभर पण्डित चैतन्य कृष्णको मुखारबिन्दबाट संगीतमय शैलीमा कथाप्रवचन भएको थियो ।

साथै महायज्ञका अवसरमा यहाँका विभिन्न व्यक्तिले गुरुकूल पाठशाला र प्राकृतिक चिकित्सालयका निम्ति आठ कोठे भवन र दुई वटा ढोका निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।