चितवन । भारतबाट अवैधरुपमा ल्याइँदै गरेको आठ टन कुखुराको मासु नियन्त्रणमा लिइएको छ । युपी ७० बिटी १७७६ नंको ट्रकमा भन्सार र क्वारेन्टाइन छली ल्याइएको कुखुराको मासु भरतपुर महानगरपालिका वडा नं १ बाट गएराति नियन्त्रणमा लिइएको हो ।
गगन सप्लायर्सको नाममा नक्कली क्वारेन्टाइन बनाइ भैरहवा क्वारेन्टाइनबाट काठमाडौँ लाँदै गरेको कुखुराको मासु चितवनका कुखुरापालक किसानले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाएका छन् ।
नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिगको सहयोगमा व्यवसायीले मासु नियन्त्रणमा लिएको जनाएको छ । कुखुराको मासुसँगै माछा, केराउलगायतका खाद्यान्न पनि रहेको प्रहरीले जनाएको छ ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोख्रेलले पशु क्वारेन्टाइनबाट परीक्षण हुनुपर्नेमा प्लान्ट क्वारेन्टाइन कार्यालयबाट परीक्षण गरी मिलेमतोमा अवैधरुपमा मासु भित्र्याइएको बताए ।
प्लान्ट क्वारेन्टाइन बेलहियाको चलानी नं १५८८६ को पत्रअनुसार क्वारेन्टाइनले जाँचपास गराएको पाइएको छ ।
भारतमा पछिल्लो समयमा कुखुरामा वर्डफ्लु देखिएको छ । वड्फ्लु देखिएसँगै भारतमा उत्पादित कुखुराजन्य पदार्थ नेपाल भित्र्याउन नपाउने व्यवस्था छ ।
नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष हरि लोहनीले आइतबार साँझ अवैधरुपमा मासु ल्याएको खबर पाएपछि व्यवसायीले निगरानी गरेर नियन्त्रणमा लिन सफल भएको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले यस विषयमा थप अनुसन्धान भइरहेको बताए।
अवैधरुपमा नेपाल भित्रिएको भेटिए नियन्त्रणमा लिइएको मासु नष्ट गर्ने र कानूनअनुसार पशु सेवा कार्यालयले कारबाही गर्ने उनले बताए ।