स्वास्थ्य

रु छ करोडको लगानीमा बिरामी आवास भवन

नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय बनेको छ ।

रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले रु पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंँले जुटाएको हो । सो भवनमा ७२ कोठा छन् ।

चिकित्सालयमा हाल ८० बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । सो भवन निर्माणसँगै आवासीय क्षमता १५० पुगेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । पछिल्ला वर्षमा बिरामीको चाप निकै बढ्दै गएको व्यवस्थापक सापकोटाले जानकारी दिए । चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण पनि ल्याएको छ ।

कोलन हाइड्रोथेरापी, सर्कलुर जेट बाथलगायत अन्य उपचार उपकरण थपिएको छ । चिकित्सालयले प्रतिबिरामी प्रतिदिन उपचार, खाना र आवाससहित रु ७५० लिँदै आएको छ ।