शिक्षा

छ जनालाई नइ बाल पुरस्कार

काठमाडौँ, २५ चैत । नइ प्रकाशनले आआफ्नो विधामा प्रतिष्ठा आर्जन गर्ने पाँच वर्षदेखि १५ वर्षसम्मका छ बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

सो पुरस्कारबाट पुरस्कृत हुनेमा रिहना भट्टराई (बहुआयामिक), एञ्जेलिना न्यौपाने (साहित्य) र स्वन्ति श्रेष्ठ (गायन तथा नृत्य) छन् । ताम्रपत्रसहित ती पुरस्कारका राशि जनही रु दश हजार हुनेछन् ।
यसैगरी ‘नइ कोपिला पुरस्कार’ नृत्यमा सगुन श्रेष्ठ र गायनमा रुनिषा सुनुवारलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित ती पुरस्कारका राशि जनही रु सात हजार हुनेछन् । ताम्रपत्रसहित रु पाँच हजार राशिको ‘नइ चिचिला पुरस्कार’ भने पाँच वर्षीया स्निग्धा देवकोटालाई दिइने प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । वाङ्यम शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते ती पुस्कार समर्पण गरिनेछन् । नइ प्रकाशनका २८ पुरस्कारमध्ये यस वर्ष २२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभालाई नइ पुरस्कार समर्पण गरिने छ ।