कृषि

जिमुहामा शीत भण्डार सञ्चालन हुँदै

वालिङ, स्याङ्जा । गल्याङ नगरपालिका–११ जिमुहामा शीत भण्डार निर्माण गरिएको छ ।

आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) अन्तर्गत जलस्रोत व्यवस्थापन आयोजनाको सहयोग र जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको समन्वयमा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटारको व्यवस्थापनमा झण्डै एक महिनापछि शीत भण्डार सञ्चालनमा ल्याइँदै छ ।

“नमूना नगदे बाली उत्पादन कार्यक्रमअन्तर्गत झण्डै दुई सय सदस्य किसानबाट रु २४ लाख रकम संकलन ग¥यौँ,” नमूना नगदे बाली उत्पादन कार्यक्रमका अध्यक्ष रुमलाल कँडेलले भने, “शीत भण्डार निर्माणका लागि विश्व बैंकले ९६ लाख गरी कूल रु एक करोड २० लाखको लागतमा शीत भण्डार निर्माण सम्पन्न हुनेछ ।”

डेढसय मेट्रिक टन क्षमताको उक्त शीत भण्डार मल्टी च्याम्बर प्रविधिको हुनेछ र यसमा आलु, सुन्तला र प्याजको सुरक्षित भण्डारण गर्न सकिन्छ । “यहाँ उत्पादन भएको आलुको भण्डारण गरी बजारमा माग भएका बेला बिक्री गर्न सकिने भएकाले किसानले उचित मूल्य प्राप्त गर्न सक्छन्,” अध्यक्ष कँडेलले भने, “साढे दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको शीत भण्डार सञ्चालनमा आएपछि चर्को मूल्य तिरेर पोखरा र भैरहवा लगेर भण्डारण गर्नुपर्ने समस्या हट्नेछ ।”

यस क्षेत्रका कृषकले विशेषगरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र ओसारपसारमा कम्तीमा पनि प्रतिकिलोग्राम रु १० खर्चिनुपर्ने बाध्यता थियो । अहिले शीत भण्डार निर्माण भएपछि समयको बचतसँगै प्र्रतिकिलोग्राम रु ६ सम्म भण्डारण गर्न सकिने संस्थाले जनाएको छ ।