कृषि

डेरी उद्योगमा आगलागी

चितवन । भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राति आगलागी भएको छ । राति करीब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट) मा विद्युत् चुहावट भई आगलागी भएको जनाइएको छ ।

उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट उद्योगको बोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रूम र कोल्ड स्टोरपूर्णरुपमा क्षति भएको भिजन डेरी उद्योगका कार्यकारी अध्यक्ष सुरेशचन्द्र अधिकारीले बताए । उनका अनुसार उद्योगमा जडित उपकरणहरू पूर्ण स्वचालित रहेको र आगलागीपछि उद्योगका कुनै पनि युनिट चलेको छैन ।

अधिकारीका अनुसार, आगलागीबाट दूध राख्ने क्रेट २५० वटा, दूध र दही प्याकिङ गर्ने प्लाष्टिक चार क्विण्टल जलेर नष्ट भएको छ । सम्पूर्ण हाइकोर विद्युत् लाइन नष्ट भएको अधिकारीले बताए । उनका अनुसार प्रारम्भिक अनुमानमा करीब रु १५ लाखबराबरको क्षति देखिएको र प्राविधिक जाँचपछि सम्पूर्ण क्षतिको विवरण पत्ता लाग्ने छ ।

विगत १६ वर्षदेखि सञ्चालनमा आएको भिजन डेरी उद्योगले राहुल ब्राण्डका दूध, दही, बटर, क्रिम, पनिर, नौनी तथा सुजन ब्राण्डको घिउ उत्पादन गर्दै आएको छ । भिजन डेरीका उत्पादन चितवन, नवलपरासी, गोरखा र तनहुँका बजारमा बिक्री वितरण हुँदै आएको छ ।