साहित्य

साहित्यकार पाँडेको अध्यक्षतामा नेपाल हाइकु केन्द्र

काठमाडौँ। साहित्यकार रामकुमार पाँडेका अध्यक्षतामा नेपाल हाइकु केन्द्र(नेहा–२०१३) मङ्गलबार पुनःगठन गरिएको छ । नेहाका उपाध्यक्षमा मित्रबन्धु पौडेल, महासचिवमा सुषमा मानन्धर, कोषाध्यक्षमा सुमी लोहनी तथा सदस्यमा सुवर्णराम जोशी, लालबहादुर भुजेल, श्याम रिमाल, ऋषिराम बराल र शिरोमणि दवाडी रहेका छन् ।

नेहाबाट ‘नेपाली हाइकु’ तथा इन्द्र माली नेतृत्वको हाइकु काव्य प्रतिष्ठान(हाइकान)बाट ‘नेवाः हाइकु’पत्रिका प्रकाशन भइरहेका छन् । नेपालमा नेपालभाषा, मैथिली, थारू, डोटेली, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा हाइकु लेखिएको र सङ्ग्रहका रुपमा सयौँ कृति प्रकाशन भइसकेको बताइएको छ । विसं २०१९ मा शङ्कर लामिछानेले जापानबाट नेपालमा भित्र्याएको हाइकुमा पाँच–सात–पाँच गरी सत्र अक्षर र तीन हरफ हुन्छन् । हाइकुमा मौसम, प्रकृति र संस्कृतिका विम्ब प्रयोग गरी कुनै विषयवस्तुलाई पस्कने गरिन्छ ।

नेहाले आगामी बुद्धजयन्तीका दिन शान्तिवन गोदावरीमा शान्ति हाइकुयात्रा गर्दैछ । यसअघि नेहाले पाँडे निवास, चोभार र चिडियाखानामा हाइकुयात्रा सम्पन्न गरिसकेको छ । जापानमा पनि नेपालका प्रकाश पौडेल माइला र शेरबहादुर तामाङ हाइकु प्रवद्र्धनमा सक्रिय छन् ।