अन्तर्राष्ट्रिय

सिरिया रासायनिक हतियार आक्रमणको स्वतन्त्र छानविन गर्न राष्ट्रसंघ प्रमुखको माग

वासिङटन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले सिरियाको पूर्वी क्षेत्र गुटामा रासायनिक हतियारको प्रयोग भएको भन्ने सूचनाले आफूलाई निकै दुखी बनाएको भन्दै उक्त घटनाको छानविनका लागि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूलाई सहज पहुचका लागि आग्रह गरेका छन् ।

कुनै पनि पक्षले जुन परिवेशमा भएपनि रासायनिक हतियारको प्रयोग गरेको पुष्टि भएमा यो अन्तर्राष्ट्रिय कानूनको प्रष्ट उल्लङ्घन हो र घृणास्पद कार्य हो, महासचिव गुथ्रेसले भने ।

“रासायनिक हतियार प्रयोग र यसबाट ठूलो सङ्ख्यामा सिरियाली नागरिकको मृत्यु भएको भन्ने हालैका आरोपप्रति गम्भीर एवम् विस्तृत अनुसन्धान हुनु जरुरी छ,” राष्ट्रसंघ प्रमुखले बताए ।

उनले थपे, “घटनाबारे स्वतन्त्र तथा पक्षपातरहित अनुसन्धानका लागि विशेषज्ञलाई सहज पहुँचका लागि राष्ट्रसंघ सम्वन्धित पक्षसँग अनुरोध गर्दछ ।”

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन् । मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ ।

सिरिया युद्धको अनुगमन गरिरहेका संघसंस्थाहरूले सरकारी सुरक्षाफौजले विद्रोहीविरुद्ध गरेको भनिएको उक्त आक्रमणमा बिषाक्त क्लोरिन ग्यासको प्रयोग भएको भन्ने दावी गर्दै आएका छन् ।

सिरिया सरकारले भने गुटामा घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोपको खण्डन गर्दै यसबारेमा ‘बनावटी समाचार’ आएका बताएको छ ।