शिक्षा

प्रभावकारी शिक्षा लागू गर्न स्तर मापन

नवलपरासी । स्थानीय तहमा प्रभावकारी शिक्षा लागू गर्न पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले शिक्षा ऐन÷नियम तयार गर्ने शिक्षा योजना बनाएको छ ।

पश्चिम नवलपरासीअन्तर्गत सुस्ता गाउँपालिकाभित्रका सबै विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थीको स्तर मापन गरी शिक्षासम्बन्धी ऐन÷नियम तयार गर्न शिक्षा कार्ययोजना बनाएको हो ।

जसअनुसार स्थानीय तहमा प्रभावकारी शिक्षासम्बन्धी विभिन्न नियम बनाउन र विद्यालयलाई बजेट दिने आधार निर्माणका लागि गाउँपालिकाले स्तर मापन परीक्षा मापनसमेत गरिसकेको छ ।

गाउँपालिकाभित्रका ३४ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ५ मा अध्ययनरत एक हजार बढी विद्यार्थीलाई रुपौलीया, कुडिया, नर्सहीं र पक्लीहंवामा परीक्षा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

विद्यालयले आफ्ना विद्यार्थीको परीक्षा स्वयं सोही विद्यालयका शिक्षक/शिक्षिका आफैँ परीक्षण गर्ने परिपाटी रहेकाले विशेष गरी सामुदायिक विद्यालयले स्तरमा ध्यान नदिएकाले यस्तो नीति अपनाइएको अध्यक्ष पाण्डेको भनाइ छ ।

सुस्ता गाउँपालिकाले विद्यालयको स्तरको आधारमा विद्यालयलाई बजेट उपलब्ध गराउने योजना बनाएको छ । यसले विद्यालयले गुणस्तरमा ध्यान दिने विश्वास लिइएको छ ।