शिक्षा

व्यावसायिक शिक्षामा जोड

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमलाई संघीय संरचनामा उच्च प्राथमिकता दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

केन्द्रीय, प्रान्तीय र स्थानीय तहले प्राविधिक शिक्षा र तालीमलाई एकसाथ अगाडि लगे स्वरोजगार बढ्ने र बेरोजगारी समस्यासमेत हल हुने कुरालाई ध्यान दिन उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनद्वारा ‘बदलिँदो परिवेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको अवस्था, समस्या र समाधान उपाय’ विषयक आज यहाँ आयोजित छलफलका सहभागीले अबको शिक्षा नीतिले प्राविधिक शिक्षा र तालीमलाई सम्बोधन गर्नुपर्छ भने ।

सरकारको प्राथमिकतामा प्राविधिक, व्यावसायिक शिक्षा र तालीमलाई विद्यालय शिक्षासित समन्वय गरी प्रभावकारी बनाउने भन्ने रहेको छ ।

कार्यक्रममा विश्वविद्यालयका डिन प्रा महेशनाथ पराजुलीले विश्वविद्यालयले प्राविधिक, व्यावसायिक शिक्षा र तालीम एकसाथ सञ्चालन गर्नुपर्नेमा जोड दिँदै काठमाडौँ विश्वविद्यालयले अगामी भदौदेखि यस विषयमा स्नातकोत्तर तहमा पठनपाठन शुरु गर्ने जानकारी दिए ।

शिक्षा मन्त्रालयका सहचिव बैकुण्ठ अर्यालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका कार्यक्रमसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालले पछिल्लो समय प्राविधिक, व्यावसायिक शिक्षाको विकासमा जोड दिएको चर्चा गरे ।

व्यावसायिक शिक्षाका विज्ञ प्राडा प्रमोदकबहादुर श्रेष्ठले बजारको माग र आवश्यकतालाई ध्यानमा दिई विश्वविद्यालयले व्यावसायिक शिक्षाको पठनपाठन गर्नुपर्छ भने ।