स्वास्थ्य

उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

दुनै, डोल्पा । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ ।

पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पातल डोल्पाले जानकारी दिएको छ । जिल्ला अस्पताल डोल्पामा सामग्री अभाव र फिजिसियन डाक्टर नभएका कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाका लागि आवश्यक सामग्री एवं उपकरणबिनानै शल्यक्रिया गरिने सूचना आधिकारी तारा बोहराले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति र उपकरण नभएकाले जिल्ला अस्पतालका अन्तरंग कक्षका कर्मचारीको सहयोग र अनुभवका आधारमा शल्यक्रिया गरिन्छ ।

जिल्ला अस्पतालमा भनेअनुसार उपकरण र जनशक्ति अभावले गर्दा सामान्य प्रकारका शल्यक्रिया पनि नभएर तराईका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स तथा सूचना अधिकारी तारा बोहराले बताए ।

जिल्लाभरिमा सुत्केरी महिला भरपर्दो प्रसूति सेवाका लागि जिल्ला अस्पताल आउने गरेता पनि जिल्ला अस्पतालले भने उपकरणबिनानै जोखिम मोल्दै सुत्केरीको शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

स्थानीय सरकार आएपछि सबै प्रकारका उपचारमा औषधि, उपकरणको समस्या भएको जिल्ला अस्पतालको दाबी छ । दैनिक प्रशासनिक खर्चको रकम स्थानीय तहमा गएपछि जिल्ला अस्पतालमा अप्ठ्यारो परेको बुझिएको छ ।