लुम्बिनी

रोल्पामा मुस्ताङी विद्यार्थीको सहयोग

रोल्पा । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् ।
मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो ।

रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा दामासाही रूपमा प्रति मृतकको रु सात हजार ३९० का दरले उपलब्ध गराइएको स्थानीय हर्क घर्तीमगरले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका अध्यक्ष नौलसिं पुन, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगायतको सहभागिता रहेको सो कार्यक्रममा मृतकका परिवारलाई सम्झने मुस्ताङी विद्यार्थीप्रति रोल्पालीले आभार व्यक्त गरेका थिए ।

सडक निर्माणमा मजदुरी गर्न गएका थवाङ र सुनछहरी गाउँपालिकाका नौँ मजदुरले मुस्ताङमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनीहरूको मृत्युपछि परिवारका सदस्यलाई जीवन निर्वाहमा समस्या भएको थियो । आर्थिक सहयोगले तत्कालका समस्या समाधानमा सहयोग पुग्ने मृतकका परिवारले जनाए । दुर्घटनामा एकै परिवारका तीनसहित नौँ जनाले ज्यान गुमाएका थिए ।