कृषि

परम्परागत खेती अन्त्य हुन्छः मन्त्री लामा

सिन्धुली । नेपालमा परम्परागत कृषि प्रणालीका कारण किसान निरास भएकाले अब परम्परागत खेती प्रणालीको अन्त्य हुने प्रदेश नं ३ का कृषिमन्त्री दावादोर्जे लामाले बताएका छन् ।

आज सिन्धुलीमा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पछिल्लो समयमा किसानमा निरासा उत्पन्न भएकाले अबको सरकारले किसानलाई कृषि फर्मतर्फ उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताए ।

परम्परागत कृषि व्यवसाय गर्ने प्रणलीले नेपाली कृषकको हित नभएकाले आफ्नै पालामा यस्तो प्रणलीको अन्त्य गरी आधुनिक प्रविधिसहितको खेती गर्न किसानलाई प्रेरणा दिने कार्यक्रम आफूले ल्याउन लागेको उनले उल्लेख गरे ।

अहिले उत्पादन कम र खर्च बढी भएकाले किसानमा निरासा छाएकाले अब कम लगानीमा उत्पादन वृद्धि गरी बीचबाट फाइदा लिने बिचौलियाको अन्त्य गर्न कार्यक्रम बनाइने उनको भनाइ छ ।

किसानले उत्पादन गरेका हरेक कृषि सामग्रीको भण्डारणका लागि एक जिल्ला एक चिस्यान केन्द्र बनाउने प्रदेश सरकारको लक्ष्य भएकाले किसानलाई उत्पादनमा लाग्न आग्रह गरे ।