विचित्र संसार

गलफ्रेन्डसँग घुम्न जाँदा माछामन्त्रीको पद चट् !

नर्वे । नर्वेका माछामन्त्री (फिसरिज मिनिस्टर) ५८ वर्षका पेर सेन्डवर्गले सुरक्षा प्रोटोकल मिचेको विवादका कारण राजीनामा दिनुपरेको छ । उनी २८ वर्षकी आफ्नी प्रेमिका बहारिह लेटनेसलाई लिएर जुलाईमा छुट्टी मनाउन इरान गएका थिए । पूर्वमिस इरानसमेत रहेकी उनकी प्रेमिका बहारिहलाई लिएर विदेश जाँदा उनले सुरक्षा प्रोटोकलको उल्लघंन गरेका थिए ।

खासमा, नर्वेको इन्टेलिजेन्स एजेन्सीले चीन र रुसबाहेक इरानलाई पनि जासुसी गर्ने देशको सूचीमा राखेको छ । सेन्डवर्गले विदाका लागि प्रधानमन्त्री कार्यालयमा पनि कुनै जानकारी गराएका थिएनन् । उनले आफूसँगै सरकारी मोबाइल पनि बोकेका थिए । यस विषयलाई लिएर सत्ता पक्ष र विपक्षीसमेतले उनको निकै आलोचना गरेका थिए ।

नर्वेको प्रोग्रेस पार्टीले कन्जभेटिभ र लिबरल्ससँग मिलेर सरकार बनाएको थियो । सेन्डवर्ग प्रोग्रेस पार्टीको दोस्रो नम्बरका नेता थिए ।

प्रधानमन्त्री रिसाइन्

नर्वेकी प्रधानमन्त्री अरना सोलबर्गले भनिन्, ‘सेन्डवर्गलाई राजीनामा दिन भनिएको छ । मलाई यो नै ठीक निर्णय हो जस्तो लागेको थियो । उनी जिम्मेवार पदमा थिए, तर पनि उनले सुरक्षाको विषयमा कुनै सुझबुझ देखाएनन् ।’

मन्त्रीकी प्रेमिकाले नर्वेको नागरिकता पाउन तीनपटकसम्म आवेदन दिएकी थिइन् । तीनैपटक उनको आवेदन खारेज गरिएको थियो । उनलाई इरानले देशनिकाला गरेको थियो । तर, उनलाई इरानमा जबर्जस्ती विवाह गरिदिन लागिएकाले नर्वेले बस्ने अनुमति दिएको थियो ।

एक अखबारका अनुसार लेटनेसले धेरै ब्युटी कन्टेस्टसँगै मिस इरान २०१३, मिस ग्लोब इरान २०१४ हुँदै मिस ग्रयान्ड इन्टरनेसनलमा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् । उनी दुई कम्पनीकी मालिक हुन्, जुन कम्पनीले नर्वे–इरानबीच माछा र ग्यासको आयात–निर्यात गर्छ । नर्वेमा लेटनेसका विषयमा अनुसन्धान सुरु गरिएको छ । तर, लेटनेसले इरान सरकारसँगको कुनै पनि सम्बन्धलाई इन्कार गरेकी छिन् । -एजेन्सीको सहयोगमा