अन्तर्राष्ट्रिय

अमेरिका, मेक्सिको र क्यानडाबी भयो यस्तो सहमति !

वासिङ्टन । संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका छन् ।

यद्यपि २५ वर्ष पुरानो नाफ्टाको भविष्य भने अनिश्चित भएको छ । क्यानडाका विदेशमन्त्रीले नाफ्टाको पुनरावलोकनमा क्यानडाको हस्ताक्षर अनिवार्य रहेको बताइरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा नआए क्यानडालाई नयाँ सम्झौतामा समावेश नगरिने बताउनुभएको छ ।

ट्रम्पले नाफ्टा खारेज गर्ने भन्दै विवादास्पद भनाईहरु सार्वजनिक गरिरहेका छन् । उनी सम्झौताको नाम नै परिवर्तन गर्ने पक्षमा छन ।

“व्यापारका लागि आजको दिन महत्वपूर्ण छ । दुबै मुलुकबीच साँच्चिकै राम्रो समझदारी भएको छ,” राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभलबाट सम्झौताका बारेमा घोषणा गर्दै भने । उक्त अवसरमा राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरीक पेना नीटोसँग फोनमा कुरा गरेका थिए ।

नाफ्टाको दोस्रो संस्करणका रुपमा हेरिएको यस सम्झौतामा सवारीसाधनको व्यापार, कामदारको सुरक्षा र हरेक छ वर्षमा सम्झौता नवीकरण गर्ने विषयहरु समेटिएका छन् । उक्त सम्झौताका विषयहरु सार्वजनिक भएसँगै क्यानडाका विदेशमन्त्री एवं व्यापार वार्ताकार क्रिस्टिया फ्रिल्यान्ड वार्तामा सहभागी हुन मङ्गलबार वासिङ्टनको भ्रमण गर्दै छन् ।

व्यापार वार्ताकारहरुले नाफ्टालाई अद्यावधिक र पुनर्लेखन गर्न झण्डै एक वर्ष लगाइसकेका छन् तर अमेरिका र मेक्सिकोले क्यानडालाई बाहिरै राखेर दुई मुलुकबीचका विवादहरु सुल्झाउन पहिलो प्रयत्न गरेका थिए । ट्रम्पले नयाँ सम्झौतामा क्यानडालाई छाडेर पनि अघि बढ्न तयार रहेको जानकारी गराएका थिए ।

“हामीबीच नयाँ सम्झौता हुन सक्दछ वा नयाँ सम्झौता पनि हुन सक्दछ,” ट्रम्पले भने । उनले क्यानडासँग सवारी साधन र दुग्धजन्य पदार्धको करका विषयमा कठोर धारणा सार्वजनिक गरिआउनुभएको छ । यही नै दुवै छिमेकी राष्ट्रबीचको सबैभन्दा पेचिलो प्रश्न हो ।

मेक्सिकोका अधिकारीहरुले नाफ्टालाई त्रिपक्षीय सम्झौताकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । “हाम्रो इच्छा नै यो सम्झौतामा क्यानडा साथमा आओस् भन्ने हो,” मेक्सिकोका राष्ट्रपति पेना नीटोले ट्रम्पलाई भने । पेना नीटोले आफूले यस विषयमा क्यानडाका प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको जानकारी दिए ।

ट्रम्प र ट्रुडोबीच व्यापार सम्झौताबारे कुराकानी भयो – क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिका र मेक्सीको बीचको पछिल्लो व्यापार सहमतिका बारेमा रचनात्मक कुराकानी भएको छ । क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार ट्रुडोले क्यानडाली व्यापार वार्ताकार एवं विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई मङ्गलबार नै वासिङ्टन पठाएका छन् ।

“प्रधानमन्त्रीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको सम्बन्धमा रचनात्मक वार्ता भएको छ,” प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “मेक्सीको सँगको वार्तामा भएको प्रगतिप्रति दुबै नेताले सन्तोष व्यक्त गरेको र क्यानडासँग अमेरिकाको वार्ता पनि तार्किक निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गरेका छौं ।”

नयाँ सम्झौतामा क्यानडालाई पनि समेट्नु पर्दछ– मेक्सीकोका नवनिर्वाचित राष्ट्रपति

मेक्सीकोका नवनिर्वाचित राष्ट्रपति आन्देस म्यानुएल लोपेज ओब्राडोरले अमेरिका र क्यानडासँगै त्रिपक्षीय सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिका र मेक्सीकोबीचको सम्झौता पहिलो कदम भएको पनि उनले बताए ।

“क्यानडालाई पनि समावेश गरिनु आवश्यक छ,” बामपन्थी विचारधाराका राष्ट्रपति ओब्राडोरले भने । “विगतमा झैं स्वतन्त्र व्यापार सम्झौताकै स्वरुपमा अबको सम्झौता गरिनु आवश्यक छ ।”