कर्णाली प्रदेश

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको शाहीको भनाइ रहेको छ ।

घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।