खेलकुद

चर्च ब्वाइज सेमिफाइनलमा

ताप्लेजुङ । डिफेण्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौँ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा एम्ब्रियो युवा क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजका लागि खेलको ४४औँ मिनेटमा म्याक्सबलले, ६६ औँ मिनेटमा जाङ्मु शेर्पाले र ८५ औँ मिनेटमा रुपेश तामाङले गोल गरेका थिए ।

खेल शुरु भएको १०औँ मिनेटमा मोरङका लागि दीपक राईले गोल गरेका थिए भने ५०औँ मिनेटमा सुवास राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि भने मोरङले गोल गर्न सकेन । चर्च ब्वाइज सेमिफाइनलमा पुगेसँगै क्वार्टर फाइनलका खेलहरु पनि सकिएका छन् ।

यसैबीच बिहीबारदेखि शुरु हुने सेमिफाइनलको पहिलो खेलमा रेड स्टार क्लब झापा र राष्ट्रिय जागृति क्लब सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । रेडस्टारले रेडहर्स इलामलाई पराजित गरेको थियो भने राष्ट्रिय जागृति क्लबले युनाइटेड खर्साङ फुटबल क्लब दार्जेलिङलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

सदरमुकाम फुङलिङको भानुजन माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैँया नगदसहित ट्रफी प्राप्त गर्नेछन् । लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा गत ८ गतेदेखि जारी प्रतियोगिता १६ गते सकिनेछ ।