कर्णाली प्रदेश

दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे ।

ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश शाही र ३२ वर्षीय पदमबहादुर शाही थिए । पाँच वर्ष भारतको मनालीमा रहँदा प्याराग्लाइडिङसम्बन्धी सीप सिकेका दुबैले बुधबार जुम्लाको आकाशमा कसैले नपत्याएको काम गरे । “चिलजस्तो पनि लागेन । मान्छे हुन् भन्ने पनि ठम्याउन सकिएन । नजिक आउँदा त हाम्रै ठेटा (युवा) पो रहेछन,” आश्चर्य प्रकट गर्दै तातोपानी–५ लाम्रा गाउँका ८३ वर्षीय ज्येष्ठ नागरिक कालु सार्कीले भने । यस्तो चीज जीवनमा पहिलोपटक देख्न पाएको सोही वडाकै ज्येष्ठ नागरिक उमकान्त चौलागाईले राससलाई बताए । “विदेशीहरुले यसो गर्छन् भन्ने सुनेको थिएँ तर हाम्रै भाइ छोराहरुले पनि डोरीको भरमा आकाशमा उड्न सक्ने क्षमता र साहस राख्न सक्दा रहेछन्,” उनले भने ।
ती युवाले साबिकको लाम्रा गाविसको इज्जत पहाडको छ हजार फिट माथिबाट प्याराग्लाइडिङ उडान भरेका थिए । करीब १३ मिनेटपछिको परीक्षण उडानबाट सफल अवतरण गरेका शाही बन्धु र त्यसको निर्माता तथा पहलकर्ता टक्क नेपालीलाई स्थानीयवासीले सिन्दूर जात्रा गरेका थिए ।