कृषि

दूध बिक्रीबाट मनग्य आम्दानी

म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४/७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिए । यहाँको दूध सहकारीले सदरमुकाम बेनी र तातोपानी बजारमा बिक्री गर्ने गरेको छ ।

सहकारीले किसानबाट प्रतिलिटर दूध रु ५७ देखि रु ५८ सम्ममा खरीद गर्ने गरेको छ । सहकारीले सो दूध डेरी उद्योगलाई प्रतिलिटर रु ६७ देखि रु ७५ सम्ममा बिक्री गर्छ । सहकारीले सिंगा, सुर्केमेला र ठूलोखोलाका किसानबाट दूध संकलन गर्दैआएको छ । सहकारीमा ५५ किसान आवद्ध छन् । “एक जनाले दैनिक ४५ लिटरसम्म दूध बिक्री गर्ने गर्छ,” व्यवस्थापक पौडेलले भने।

सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारको समस्या टरेको स्थानीयवासी मीना खत्रीले बताए। दूध बेचेको पैसाले बालबच्चा पढाउन तथा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।

बेनीमा वधशाला

सदरमुकाम बेनीमा व्यवस्थित वधशाला सञ्चालनमा आएको छ । बेनी नगरपालिकाले हाडेभिरमा यसै हप्तादेखि उक्त वधशाला सञ्चालनमा ल्याएको हो । उपभोक्ताको १५ प्रतिशतसहित रु १२ लाखमा वधशाला निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

यहाँ दुई वधस्थल निर्माण गरिएको छ । वधशालाबाट निस्कने फोहर व्यवस्थित गर्न खाडल बनाइएको छ । खाडलमा जम्मा हुने फोहरलाई मल बनाइ बिक्री गरिनेछ । राँगा र भैँसी बाँध्न टहरा बनाइएको छ । यसअघि बेनीको खुल्ला मञ्च नजिकै तथा डल्लेपीपलमा अव्यस्थितरुपमा राँगा भैँसी वध गरिँदै आएको थियो । दुर्गन्धबाट वरपरका बस्तीका बासिन्दा प्रभावित भएका थिए । वधशाला निर्माणपछि मासु बिक्री गर्न सहज भएको व्यवसायीले बताएका छन् ।