उर्जा

गाउँपालिकामा पहिलो पटक विद्युतीकरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ ।

गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले जानकारी दिए।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा रु २८ लाख उपलब्ध गराएको विद्युतीकरण योजनाका लागि विद्युत् प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराएको थियो । उपभोक्ता समितिको रु ९५ हजार लगानी भएको छ ।

२०० घरधुरी उपभोक्ताले पोल, तार ढुवानी र पोल गाड्ने खाडल खन्नका लागि तीन दिनका दरले रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाले बताए ।

उपभोक्ताको घरमा विद्युत्को मिटर जडान गर्न स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समूहले अनुदान उपलब्ध गराएको छ । प्रतिघर रु एक हजार सात सयका दरले अनुदान दिइएको समूहका अध्यक्ष रेशमबहादुर थापाले बताए ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि धारापानीवासी खुशी र उत्साहित भएका छन् । यसअघि उज्यालोका लागि उनीहरु सोलार र टुकीमा निर्भर थिए । उज्यालोका साथै टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ ।

धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नं ७ मा पर्ने अन्य बस्तीमा पनि विद्युत् सुविधा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ । केन्द्रीय विद्युत् विस्तारका लागि रु ८० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए ।