पर्यटन/संस्कृति

कृष्ण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ । सो मन्दिर विसं १६९३ मा राजा सिद्धिनरसिंह मल्लले बनाएका हुन् । ढुङगाबाट बनेको २१ गजूरको सो मन्दिरमा रामायणका पूरा कथा अङ्कित रहेको बताइन्छ । उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजन ‘व्रत’ बसी श्रीकृष्णको पूजा लगाउने र रातभर जाग्राम बसेर बिताउँछन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भइसकेको छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा एवम् रथयात्रा निकाल्ने गरिएको छ । श्रीकृष्णजन्माष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरमा पूजा एवं दर्शन गर्नुहुने जनाइएको छ ।