समाचार

बिम्स्टेक सम्मेलनले बिजुली बिक्री गर्ने बाटो खोलेको छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकअर्काका राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा औपचारिक ढङ्गले छलफल भएको जानकारी दिए ।

सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हँुदा एक देशविरुद्ध हुने आतङ्कवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको बताए ।

रक्सौल–वीरगञ्ज–काठमाडौँ रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामथ्र्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको उनले प्रतिनिधिसभालाई बताए ।

प्रधानमन्त्री ओलीले सम्मेलनले बिजुली बिक्री गर्ने बाटो खोलेको बताउँदै भने, “सहयोगका १४ क्षेत्र पुनःसंरचना गर्ने, बौद्ध परिपथ स्थापना गर्ने, सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने सहमति हुनुले सम्मेलन सफल भएको बताउँछ ।”

प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच अधिकतम रुपमा परिचालन भई छोटो समयमा सफलता हासिल गर्न सहयोग गर्ने नेपाली जनता, सुरक्षा निकाय र बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।