साहित्य

‘मुलुकको समृद्धिमा पूर्वसांसदको अनुभव निकै उपयोगी’

काठमाडौँ । पूर्वसांसद मञ्च नेपालले ७० वर्ष उमेर पुगेका २३ पूर्व सांसदलाई सम्मान गरेको छ । मञ्चको १९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले मुलुकको समृद्धिमा पूर्वसांसदको अनुभव सरकारका लागि निकै उपयोगी हुने बताउँदै पूर्वसांसदको मागप्रति सरकार सकरात्मक रहेको धारणा व्यक्त गरे ।

पूर्वसांसदलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, मर्यादाक्रमलगायतका बारेमा छलफल भइरहेको र सुविधाका बारेमा मञ्चसँगै छलफल गरेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पूर्वसभामुख तारानाथ रानाभाटले राष्ट्रको विकास र समृद्धिका लागि पूर्वसांसदको अनुभवले महत्वपूर्ण योगदान पुग्ने बताए। मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतले आर्थिकरुपमा कमजोर भएका पूर्वसांसदलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

मञ्चका संस्थापक महासचिव होमराज दाहालले पूर्वसांसद मञ्च संसद्कै एउटा अङ्ग भएको हुँदा उनीहरुलाई पनि सम्मानजनक स्थान दिनुपर्ने बताए । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मञ्च स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाउन शुरु गरिएको जानकारी दिँदै मञ्चको स्थापनामा योगदान पु¥याउन पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र पूर्वसभामुख तारानाथ रानाभाटको स्मरण गरे ।

पूर्वसांसद मञ्चको स्थापना २०५७ सालमा भएको थियो । विश्वमा पनि पूर्वसांसद मञ्चको अभ्यास छ । भारतमा सन् १९४७, अमेरिकामा सन् १९८० र बेलायतमा सन् २००१ मा पूर्वसांसद मञ्चको स्थापना भएको थियो ।