समाचार

बेचबिखनविरुद्ध प्रभातफेरी

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरी गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सहयोगको अपेक्षा गरे । उनले यस क्षेत्रमा क्रियाशील सङ्घ संस्थालाई आवश्यक पर्ने नीति निर्माणलगायत काममा मन्त्रालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

‘मिडिया मोविलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्माले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताए । ‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेललगायतले मानव बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा दण्डको व्यवस्था गर्न माग गरे । बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा समापन गरिएको थियो ।