विचित्र संसार

मरेको १० घण्टापछि  ब्युँझिइन् महिला, यमराजसँग भेटघाट भएको ठोकुवा !

काठमाडौं । यो दुनियामा के के मात्र सुन्नु पर्छ हँ ? भारतमा एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो ।
वृद्धाको मृत्यु भएपछि उनका परिवार तथा गाउँलेले उनलाई जलाउनका लागि घाटमा लगे । तर घाटमा लगेर राखिसकेपछि जब उनको शवदाह गर्ने तयारी भैरहेको थियो मलामीले उनको शरीर चलेको देखे । पछि हेर्दा त उनी ज्युँदै भएको पाइयो । घाटमा ठूलै हंगामा भयो । मानिसहरु थरथरी काँप्न थाले । मरेको मानिस कसरी बाँचेर आयो ? भनेर सबै छक्क परे ।
कैलादेवीलाई हेर्नेको घुइँचो लाग्यो । आखिर मरिसकेको मानिस कसरी बाँच्न सम्भव भयो ? मानिसहरुले कैलादेवीलाई अनेक खालका प्रश्न गरे । कैलाले पनि सबैलाई छक्क पार्ने जवाफ दिइन् । कैलाका अनुसार मरिसकेकी उनलाई यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएका हुन् ।
आफुलाई धर्तीमा छाड्न यमराज स्वयं आएको उनको दाबी छ । कैलाका अनुसार जब उनी मरेर परलोक पुगिछन् तब त्यहाँ यमराजका दूतहरुले उनको जिवन मरण सम्बन्धी कागजात हेरेछन् ।
कागजात हेर्दा त उनको मृत्युको समय अझै नआएको ठहर गरिएछ र यमराज आफैले उनलाई धर्तिमा ल्याएर ज्यँुदै छाडेछन् । आखिर ती वृद्धाको उपचारका लागि घरमै आएका डाक्टरले नै मृत घोषित गरेर जलाउनका लागि घाटमा लगिएकी कैला देवी घाटमा एक्कासी कसरी ब्युँझिइन् र उनले दाबी गरेका परलोकका कुरा कत्तिको सत्य हुन् ? त्यो चाहीँ रहस्यको गर्भमै छ । –एजेन्सीको सहयोगमा