गण्डकी प्रदेश

जलजलाका छ सय घरमा एक घर एक धारा

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा रु चार करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।

निर्माण शुरु भएको झण्डै आठ वर्षपछि स्थानीय पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भइ सबैको घरमा धारा जोडेर पानी वितरण गर्न थालेपछि लामो समयदेखि पानीको समस्या झेल्दै आएका जलजलावासीले राहत महशुस गरेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोगमा सम्पन्न उक्त आयोजनाबाट उक्त गाउँपालिकाका वडा नंं २, ३ र ४का ६०० भन्दाबढी घरधुरी लाभान्वित भएका छन् । नेपाल सरकारको रु तीन करोड ६६ लाख ८४ हजार अनुदान र स्थानीयवासीको रु ५७ लाख १९ हजार बराबरको श्रमदानमा सो आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए ।

विसं २०६७ मा सर्वेक्षण भई सोही वर्षदेखि निर्माण शुरु भएको आयोजनामार्फत हालसम्म ६०० घरले मिटर जडान गरेर खानेपानी उपभोग गर्न थालिसकेका छन् । यसैगरी तितौरे, चौराह, प्युसे, हम्र्पनी, पधेरापाटे, थाम पिडाल्नाका आयोजनासमेत सुधार गरी वितरण प्रणालीलाई व्यवस्थित र एकीकरण गरेर एक हजार घरधुरीमा खानेपानी विस्तार गरिने समितिको लक्ष्य छ ।

पानी सङ्कलनका लागि चार घनमिटरका दुई, छ घनमिटरको एक, १० घनमिटरको एक, १२ घनमिटरको दुई, १६ घनमिटरको एक, २० घनमिटरको पाँच र ५० घनमिटरको एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । घरघरमा चौबिसै घण्टा नियमितरुपमा शुद्ध खानेपानी आपूर्ति भएपछि यहाँका बासिन्दाको दैनिकी सहज भएको र खानेपानीका लागि सार्वजनिक धारामा पुगेर लाइन बस्नुपर्ने समयसमेत बचत भएको स्थानीयवासी हेमा अधिकारीले बताए ।

आयोजनालाई दिगो र नियमितरुपमा सञ्चालनका लागि तीन कर्मचारी राखिएको छ । न्यूनतम १५ हजार लिटर पानीका लागि मासिक रु १०० शुल्क कायम गरिएको छ । उक्त गाउँपालिकाको वडा नं ३ का २२४ घरलाई वडा कार्यालयले निजी धाराको मिटर जडानका लागि रु दुई हजारका दरले अनुदान उपलब्ध गराइएको छ ।