जाजरकोट । यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टौँ हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताए।
अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए ।
भेरी नगरपालिका–६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावरलाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वञ्चित भएको जैसीले बताए । चुनावका समयमा जिल्लाका सबै ठाउँमा टेलिफोन टावर निर्माण गरी जनतालाई सहजरुपमा सञ्चार सेवा पु¥याउने भनी दिइएको नारा एक वर्ष बिते पनि नारामै सीमित भएको स्थानीय पूर्णसमिर महतराले बताए।
फोनले काम नगर्दा यहाँका स्थानीय सरकारको कामसमेत प्रभावित भएका छन् । फोन, इन्टरनेट, बैंक नहुँदा जिल्लाको जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकाको कार्यालय सदरमुकामबाट सञ्चालन हुँदै आएको छ । आकाशमा बादल देखिनासाथ डाँडामा गएर फोन गर्दा गर्दै टावर जाँदा हैरान हुने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।
केसीका अनुसार नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापर्वाहीले टावर निर्माण अलपत्र परेको अध्यक्ष केसीको भनाइ छ ।
कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौँ बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको छ । नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले प्राविधिक सर्वेक्षण सम्पन्न भएकोले अब स्तरोन्नतिका काम अगाडि बढाउने बताएको छ ।