गण्डकी प्रदेश

२० बर्षपछि बल्ला पिच हुने भयो सडक

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकालाई पोखरासँग जोड्ने मुख्य सडक दुई दशकपछि कालोपत्रे गरिने भएको छ ।

गाउँपालिकाको दैनिकीसँग जोडिएको बाटो रु २६ करोड एक लाख लागतमा हिमदुङ एण्ड थोकर र ड्रागन जेभीले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

पोखरा महानगरको वडा नं २५ मेलबोटबाट माछापुच्छ्रे –९ सिदिङसम्मको सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । विसं २०५४ मा नै गाडी हिँड्न सक्ने कच्ची बाटो खोली यातायातका साधन आवतजावत गरेका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय कास्कीले सो सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको हो ।

मेलबोटबाट पोखरा खानेपानी मुहान हुँदै लुम्रे ठाँटीसम्मको १० किमी सडक कालोपत्रे हुनेछ भने बाँकी ग्राभेल गर्ने सम्झौता भएको जिल्ला आयोजना कार्यान्यवन इकाइ कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद बरालले जानकारी दिए । उनका अनुसार कालोपत्रे सडक नालीसहित ६ दशमलव २ मिटर फराकिलो हुनेछ ।

माछापुच्छ्रे गाउँपालिकाका नौ वटै वडालाई प्रदेश राजधानी पोखरासँग जोड्न यो बाटो महत्वपूर्ण हुनेछ । मेलबोटबाट मर्दि पुलसम्म दुई किमी सडक केही वर्षअघि खानेपानी संस्थानको सहयोगमा कालोपत्रे भए पनि एक वर्षमै बाटो भत्किएपछि स्थानीयवासीले हैरानी खेप्दै आएका थिए ।

सडक कालोपत्रे गर्न पटक पटक स्थानीयवासीले माग गर्दै आएको बताउँदै गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेलले तोकिएकै समयमा काम सम्पन्न गर्न गाउँपालिकाले समन्वय र सहयोग गर्ने बताए । माछापुच्छ्रे गाउँपालिका कृषि र पशुपालनमा जिल्लामा अग्रणी रहँदै आएको छ ।