गण्डकी प्रदेश

दर्ता नभएको औषधि बेच्नेलाई हतकडी

गोरखा । औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित रफियावाद कलसाहजारापुर स्थायी घर भएका ३२ वर्षीय ररबर मोहमद, २६ वर्षीय रफी मोहमद र २३ वर्षीय जान मोहमद रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

उनीहरुले कम्मर दुखेको, खुट्टा दुखेको, पिनास, टाउको दुखेको औषधि भन्दै अवैध औषधि सर्वसाधारणलाई बिक्री गर्दै हिँडेका थिए । पक्राउ परेका तीनैजनाको साथबाट धतुरेको तेल, खुजुलीको औषधि, भियग्रा, पाइल्सका औषधिलगायतका औषधि भनिएका तेल, ट्याब्लेटलगायत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिनुभयो । बरामद गरिएका २४ थान झोल पदार्थ, १० थान ट्याब्लेट, १० वटा बट्टामा रहेका विभिन्न औषधिमा कुनैमा पनि ब्याच, नम्बर उल्लेख नभएको, लेभल नभएको तथा उत्पादन र प्रयोग गर्ने अवधिसमेत उल्लेख नभएको पाइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीले विभिन्न प्रकारका केमिकल मिसिएको हुन सक्ने प्रहरी प्रमुख नेपालले जानकारी दिए । उनीहरुले सर्वसाधारण झुक्याउँदै ती सामग्री महँगो बेच्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।