लुम्बिनी

शिक्षकद्वारा विद्यार्थी हातपात, छानबिन समितिको रिपोर्टपछि कारबाही गरिने

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउन माग गरिएको छ ।

सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना बाहिर आएपछि स्थानीयवासीको माग बमोजिम छानविन समिति बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।

दुव्र्यवहार गर्ने शिक्षकद्वयलाई विद्यालयबाट हटाउनुपर्ने माग गर्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । उनीहरूलाई नहटाएसम्म थप सशक्त आन्दोलन गर्ने पीडित विद्यार्थी अर्जुन गुप्ताले जानकारी दिए ।

केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे ।

कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।

विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरूमाथि हातपातसमेत गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ ।

उजुरी पछि विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्वन गरेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारबाहीको माग राख्दै सुनवल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । उक्त नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको हो ।