राजनीति

विपीका बिचारहरू लागू भए मात्र राजनीतिबाट कालो बादल हट्छः अध्यक्ष आचार्य

धरान । विपी अध्ययन प्रतिष्ठान नेपाल सुनसरीले शनिवार ‘आजको सन्दर्भमा विपीको राष्ट्र, राष्ट्रीयता, लोकतन्त्र र समाजवाद’ विषयक विचार गोष्ठी आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश नं एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले विपीको राष्ट्र, राष्ट्रीयता, लोकतन्त्र र समाजवादबारे टिप्पणी गरेका थिए । उनले सानो ठूलो केही नभनी विभेद रहित ढंगले सम्मान र सद्भाव हुनु नै समाजवाद भएको बताए । विपीवादलाई कांग्रेसले विर्सदै गएकोले नै यसको शाख खस्कोको हो भन्दै विपी बिचारको पथमा हिड्ने बित्तिकै कांग्रेस मुलुकको पहिलो दल हुने उनले बताए ।

विपी अध्ययन प्रतिष्ठानला केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वांगले आज पनि र दुर भविष्य सम्म विपीका बिचारहरू सान्दर्भिक रहने बताउँदै कांग्रेसले विपीले देखाएको बाटो बिराएको वर्तमान अवस्थामा लोकतन्त्र समेत धरापमा परेको बताए । प्रतिष्ठानकै प्रदेश नं एकका अध्यक्ष नन्द नेम्बांग , कांग्रेसका पुराना नेता गिरीराज आचार्य, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावोहांगले समेत आफ्नो बिचार व्यक्त गरेको उक्त बिचार गोष्ठीमा प्रतिष्ठानका जिल्ला अध्यक्ष बिकास आचार्य ले वर्तमानमा विपीको आदर्श किताबमा सिमीत भएकाले नै राजनितिको यो हविगत भएको हो भन्दै जब विपीका बिचारहरू व्यवहारमा लागू हुन्छन् तब मात्र राजनीतिबाट कालो बादल हटेर जाने बताए ।

यस भन्दा अगाडी विहान विपी अध्ययन प्रतिष्ठान कै प्रदेश स्तरीय बैठक बसेको थियो । प्रदेश समितिका सदस्य तथा पदाधिकारीहरू एवं प्रदेश भित्रका जिल्लाका अध्यक्षहरू उपस्थित बैठकले स्थानीय तह सम्म प्रतिष्ठानको संगठन विस्तार गर्ने, प्रदेश राजधानीमा कार्यालय तत्काल खोल्ने तथा कांग्रेसका तरूण बिद्यार्थीहरूलाई बिपी र विपीका बिचारहरू बारे प्रशिक्षण दिन प्रशिक्षकहरूको टोली तयार गर्ने समेत निर्णय गरेको थियो ।